निर्वाचन आयोगको प्रस्ताव : प्रतिनिधिसभा निर्वाचन मंसिर पहिलो साता

काठमाडौं । सत्ता गठबन्धन दलहरू आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्न सहमति नजिक पुगेका बेला निर्वाचन आयोगले मंसिरभित्रै निर्वाचन गर्ने तयारी गरेको छ। १० मंसिरभित्रै निर्वाचन गर्न आयोगले गृहकार्य थालेको छ। संसदीय निर्वाचन २ चरणमा गर्नुपर्ने आयोगको निष्कर्ष छ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको अनुभव र सुरक्षाका आधारमा २ चरणमा निर्वाचन गर्न सहज हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। निर्वाचनको मिति सरकारलाई प्रस्ताव हुन बाँकी रहेको बताउँदै उनले भने, ‘आयोग मंसिरभित्र निर्वाचन गर्नुपर्ने आन्तरिक तयारीमा छ तर सरकारलाई मिति प्रस्ताव गर्न बाँकी छ।’ निर्वाचन अवधिका लागि तोकिएको १२० दिन अगावै मितिसहित आयोगले सरकारलाई परामर्श दिने थपलियाले प्रष्ट्याए।

बिज्ञापन

सत्ता गठबन्धन दलहरूले कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्रै निर्वाचन गर्नेबारे छलफल थालेका छन्। ५ वर्षअघि पनि २ चरणमा प्रतिनिधिसभा र प्रदेशको निर्वाचन भएको थियो। आयोगले १० र २१ मंसिर २०७४ मा निर्वाचन गरेको थियो । सोमबार र मंगलबारको सत्ता गठबन्धन दलको बैठकमा २७ कात्तिक र ४ मंसिरमा निर्वाचन गर्नेबारे छलफल भएको छ। बैठकमा मंसिर अन्तिम सातासम्ममा निर्वाचन गर्न सकिने केही नेताहरूले अडान लिँदै गर्दा हिमाली जिल्लाहरूमा हिमपातलाई समेत ख्याल गर्नुपर्ने चर्चा चलेपछि दलहरू ढिलोमा मंसिर पहिलो साताका लागि सहमति नजिक पुगेका हुन्।

स्थानीय तह निर्वाचनमा प्राप्त सफलता र अहिलेको तालमेल सङ्घीय र प्रदेश निर्वाचनसम्म कायम रहनुपर्ने गठबन्धन दलका शीर्ष नेताहरूले बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छुट्टै बाममोर्चा बनाएर निर्वाचनमा जान सकिने विकल्प खोजिरहेको छ ।