
काठमाडौंका मेयर बालेन साहले वातावरण संरक्षणमा नेवार समुदायले मनाउने सिथी नखः पर्वको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्व वातावरण दिवस र सिथी नखः पर्वका अवसरमा शुभकामना दिँदै मेयर साहले भनेका छन्– सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथी नखः मनाइने संस्कृति छ ।

नेवार समुदायले मनाउने पर्व साथी नखः र वातावरण संरक्षणको सवाललाई जोडेर साहले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । उनले पानीको मुहानलगायत वातावरण संरक्षणका लागि महानगरले प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।उनको उक्त स्ट्याटस जस्ताको तस्तैकाठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ ।हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवास् सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।



सिथी नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाण्डौँको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ । नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।तर सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ ।

काठमाडौमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।
सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवास् खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।
वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ । हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन् ।हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ । यसैका लागि हामीले आगामी बजेटमा काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युँताउनको लागि सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ ।