सप्तरीको शम्भुनाथमा लागेको मेलामा भएको सामूहिक बलात्कार घटनाका आरोपित ३ जनालाई बिहीबार बालसुधार गृह पठाईयो

सप्तरीको शम्भुनाथमा लागेको मेलामा भएको सामूहिक बलात्कार घटनाका आरोपित ३ जनालाई बिहीबार बालसुधार गृह पठाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको अदालतले जानकारी दिएको छ ।

सोही घटनाका आरोपित शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम भने पुर्पक्षका लागि राजविराज कारागारको थुनामा पुगेका छन् । घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार छन्।

पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकालाई जेठ २ गते आरोपित पाँचजनाले सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन् ।

पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।

घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।