हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग स्थानीयले बन्द गरेका छन् ।छलफलको क्रममा सामान्य विवाद हुँदा उद्योग प्रशासनले प्रहरी लगाएर पक्राउ गराएको भन्दै स्थानीयले बिहीबार उद्योग बन्द गरेका हुन् ।बिहीबार बिहानैदेखि उद्योग गेट परिसरमा ठूलो संख्यामा जम्मा भएका स्थानीयले उद्योगको गेट बन्द गरी आयात निर्यात ठप्प पारेका छन् ।सरकारले नियमित रुपमा इन्धनमा मूल्यवृद्धि गरेपछि उद्योगबाट हुने सामान ढुवानीको भाडा वृद्धि हुनुपर्ने माग लिएर स्थानीय ढुवानी व्यवसायी विक्रम दोङसहित अन्य ढुवानी व्यवसायी छलफलका लागि उद्योगमा पुगेका थिए ।

छलफलको क्रममा उद्योगका कर्मचारीसँग सामान्य विवाद भएको तर उद्योग प्रशासनले प्रहरी बोलाएर दोङलाई पक्राउ गराएको विरोधमा उद्योग बन्द गरेको ढुवानी व्यवसायी स्थानीय उमेश स्याङबोले जानकारी दिए ।पक्राउ परेका दोङलाई रिहा नगरेसम्म उद्योगको आयात निर्यात बन्द यथावत रहने तथा संघर्ष जारी रहने ढुवानी व्यवसायी स्याङबोले बताए ।