
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई कम गर्दै महिलाको समग्र विकास गर्नका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएकी छन् ।

मन्त्रालयले आइतबार आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा उनले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताइन् । उनले हिंसा विरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुआत गर्न लागेको बताइन् । घरेलु हिंसा विरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएको उनको भनाइ छ । महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागि मन्त्रालयले विभिन्न किसिमका सीप विकास तथा बजारीकरणसम्बन्धी तालिम सञ्चालन गरेको उनले स्पष्ट पारिन् ।



यही असार ३ गतेदेखि १० दिनसम्म सञ्चालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो । मन्त्रालयको महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सरोज अधिकारी, शान्ति दाहाल र रत्ना घिमिरेले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमको संयोजन तथा सहजीकरण भवानी अधिकारीले गरेकी थिइन् ।

सहभागीहरुले तालिमले उद्यमी महिलाहरुलाई उद्यमशिलताको बहुआयामिक पक्षहरुको विषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागि सहज वातावरण बनाउन सके महिलाहरु व्यवसायमार्फत अगाडि बढ्न सक्ने बताएका थिए । रासस…