नेपाल-भारत सीमामा फेरि तनाव : निगुरो टिप्दा गोली हानी हत्या, गोली चलाउनेको पहिचान खुलेन

काठमाडौँ : बर्दियाको गुलरिया नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रमा एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । कर्तनियाघाट वाइल्ड लाइफ सेन्जुरीको घना मूर्तिहा जंगलमा निगुरो खोज्दै पुगेका गुलरिया नगरपालिका—३ बनकट्टाका ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो । उनलाई अज्ञात स्थानबाट चलाइएको गोली लागेको प्रहरीले जानकारी दिएको छ।

हेमराजको दाहिने खुट्टामा गोली लागेपछि उपचारका लागि आफन्तले गुलरिया अस्पताल पुर्‍याएका थिए। उनी गोली लागेपछि घर फर्किएको र उपचारका लागि परिवारले अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए।

बिज्ञापन

जंगलमा गोली कसले र किन चलायो ? अनि उनी कसरी घर आइपुगे भन्ने विषय गम्भीर भएकाले सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘जंगलमा गोली लागेका व्यक्ति कसरी फर्किए ? निगुरो साग टिप्न वा अन्य कुनै कारणले जंगल गएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । घटनाको सबै विवरण आइसकेको छैन।

हेमराजको पारिवारिक स्रोतका अनुसार गोडियालाई भारतीय जंगलमा गोली लागेपछि उनी भागेर नेपालतर्फ आएका हुन्। दौडने क्रममा उनी लडेका थिए। नेपालतर्फ आइसकेपछि उनले घरमा फोन गरेर घटनाको बारेमा परिवारमा जानकारी गराएका हुन्। लगत्तै छोरा र श्रीमती पुगेर उनलाई एम्बुलेन्सको व्यवस्था गरी गुलरिया अस्पताल पुर्‍याएका हुन्। उनी निगुरो टिप्दाटिप्दै भारततर्फको जंगलमा पुगेका थिए।

बिहीबार बेलुका नै घटना भए पनि शुक्रबार मात्रै बाहिर आएको छ। परिवारले राति नै उपचारका लागि अस्पताल पुर्‍याएका थिए। भारतीय सुरक्षाकर्मीले भने घटनाको बारेमा जानकारी नभएको बताएका छन्।

नेपाल भारत दुवैतर्फका सुरक्षाकर्मीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्। नेपालका तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले घटनास्थल पुगेर अनुगमन गरेको छ। अनुगमनका क्रममा कुनै संकेत फेला नपरेको जनाइएको छ।

गुलरिया नगरपालिका—३ हस्नापुर कट्टी सशस्त्र प्रहरी सीमा सुरक्षा बलको बीओपी र भारततर्फ मूर्तिहाको वेनवा कुँवा जंगलमा घटना भएको बताइएको छ। घटनको वास्तविकता बारेमा दुवै देशका सुरक्षाकर्मीहरू मिली संयुक्त अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। गुलरिया र मूर्तिहा सीमा क्षेत्रमा नेपाली र भारतीय दुवै पक्ष बीच पटकपटक विवाद हुने गरेको छ।

नेपालीहरू भारतीय जंगललगायत सीमावर्ती बजारमा आश्रित भएका कारण कैयौं समस्या झेल्नुपर्ने बाध्यता छ। सीमावर्ती नेपाली बासिन्दाहरूले सीमाको समस्या समाधान गर्नुपर्ने सरकारसँग पटकपटक माग गर्दै आएका छन्।