छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौं, भक्तपुर, मोरङ, बारा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले बा.५५ प ७६३६ नम्बरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार नुवाकोट बेलकोट गढी नगरपालिका–८ जिरुङ बस्ने ३० वर्षीय नवराज सुनार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। भक्तपुरको चाँगुनारायण नगरपालिका–५ पिखेलमा बा.५ ख ५४२३ नम्बरको ट्रकमा बा.६७ प ८४२२ नम्बरको स्कुटर बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेत रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा प्र–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सुनवर्सी नगरपालिका–१ केचना बस्ने ३३ वर्षीय रोशन श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाराको आदर्श कोतवाल गाउँपालिका–५ रुपवलिया टोलमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बिल्टु रामकी छोरी ३ वर्षीया सृष्टी कुमारीको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ। महोत्तरीको महोत्तरी गाउँपालिका–५ गौरीगामास्थित सडकमा मडैबाट बलबातर्फ जाँदै गरेको ज.११ प १७२३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–६ बस्ने ३० वर्षीय मुकेश मण्डल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।