
काठमाडौं । अमेरिकाबाट नेपालमा उच्चस्तरीय भेटघाट बाक्लिरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बिहीबार) काठमाडौं आउँदै छन् । ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)मा नेपाल सहभागी नहुने सरकारको निर्णय र अमेरिकालाई औपचारिक जानकारी गराउन ढिलाइ हुँदै गर्दा लुको २ दिने भ्रमण तय भएको हो।

अमेरिकी सहायता सम्झौता (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन हुनुअघि पनि नेपाल आएका उनले विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरेका थिए। यस भ्रमणमा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेटवार्ता गर्दै छन् ।



गत ६ असारको मन्त्रिपरिषद् बैठकले नेपाल एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि अझै अमेरिकालाई औपचारिक पत्राचार भएको छैन। एसपीपीबारे चर्को आलोचना भएपछि यसअघि असार अन्तिम साताका लागि तय भएको प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको थियो।

परराष्ट्र मन्त्रालयले भने देउवाको अमेरिका भ्रमण रद्द नभएको र भ्रमणको तयारी दुवैतर्फ (नेपाल र अमेरिका)बाट भइरहेको बताउने गरेको छ । गत ६ जेठमा नागरिक सुरक्षा, प्रजातन्त्र, मानवअधिकार तथा तिब्बत मामिला नियाल्ने उपमन्त्री उज्रा जियाको नेपाल भ्रमणपश्चात् देउवाको अमेरिका भ्रमण चर्चामा आएको थियो ।
जियाको नेपाल भ्रमणलगत्तै २६ जेठमा अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने भ्रमणका लागि नेपाल आएका थिए। एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि खुलेर नेपालको प्रशंसा गरेको चीनले अमेरिकालाई लक्षित गर्दै नेपालमा बाह्य हस्तक्षेप बढेको आरोप लगाएको थियो।
चीनले नेपालको आन्तरिक मामिलामा आफूबाट हस्तक्षेप नहुने र राष्ट्रियताबारे नेपालले स्वनिर्णय लिनुपर्ने बताउँदै आएको छ। एसपीपीबारे बहस जारी रहँदा नेपालस्थित अमेरिकी दूतावासले सम्झौता नेपालले रद्द गर्न सक्ने बताउँदै यस्तो सहभागिता नेपालको इच्छामा भरपर्ने बताएको थियो । एमसीसीबारे सडक र सदनमा विरोध हुँदा सहायक विदेशमन्त्री लुले चिनियाँ उत्साहटमा नेपालमा एमसीसीविरोधी गतिविधि भएको आरोप लगाएका थिए।
यस्तै आरोप–प्रत्यारोपबीच अमेरिकी उच्च अधिकारीहरूको बढ्दो नेपाल भ्रमणलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा भएको उच्चस्तरीय भ्रमणका रूपमा व्याख्या गर्ने गरेका छन् ।
गत असार अन्तिम साता चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणलगत्तै अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउनुले गहन अर्थ राख्ने कूटनीतिक मामिलाका जानकारहरूको बुझाइ छ ।