
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं १६ मा ‘यमबुद्ध पार्क’ बन्ने भएको छ। पार्क बनाउनका लागि महानगरपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
लन्डनमा आत्महत्या गरेका र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन महानगरपालिकाले बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो। आलोचना बढेपछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका थिए। बालेनको यो निर्णयको आलोचना भइरहेको छ। एक आत्महत्या गरेका व्यक्तिको नाममा सालिक बनाएर आत्महत्या दुरुत्साहन गर्ने काम भएकोसमेत टिप्पणीहरु भइरहेका छन्।
यमबुद्धका अभिभावकलाई भेटेर बालेन्द्रले आफ्नै तलबाट भए पनि सालिक बनाउने वाचा समेत गरेका थिए। चौतर्फी आलोचना बढेपछि वडा नं १६ स्थित विष्णुमती किनारमा रहेको ७ रोपनी जग्गामा पार्क बन्न लागेको हो। सो पार्कको नामकरण ‘यमबुद्ध पार्क’ भनेर गरिएको प्रवक्ता मानन्धरले जानकारी दिए।महानगरपालिकाको बजेटमा बन्न लागेको पार्कमा सालिक भने महानगरको रकमबाट नबन्ने उनले जानकारी दिए।