रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

काठमाडौं ।  नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् ।

धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ ।

पहाडी भेगमा काम पाएपनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेर बहादुर शहीले बताएका छन् । उनले आफ्नो गाँउ भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताएका छन् ।

पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर बि.क. जेठ महिनामा खेती लगाउनका लागि घर फर्किए । तर उनलाई भारतमै काम गर्न सहज भएको कारणले पुनः कामका लागि भारत फर्कन लागेको बताएका छन् ।

भारतमा आफूले गरेको कामअनुसार पारिश्रमीक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको कालिकोटका नागरिकले बताएका छन् । त्यस्तै सुर्खेतका भारत जान लागेका सुरज विकले परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताएका छन् ।

पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् । सुदूरपश्चिमका नेपाल-भारत सीमानाकामा धेरै श्रमीकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् ।

नेपालमा काम गरेअनुरुपको पारिश्रमीक नपाउनु र काम गरेको पारिश्रमीकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरुका लागि पीडाको विषय बनेको छ । अधिकांश रोजगारकिा लागि भारत पलायन भएका नेपाली नागरिकहरु नेपालमा गरेको कामको पनि उचित पारिश्रमीक नपाएकै कारण भारत कामका लागि जाने गरेको बताउँछन् ।