भारतबाट १६ रूपैयाँसम्म घटेर आयो इन्धनको मूल्य

काठमाडौं । आज फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीबाट आज प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रूपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले भने मूल्य घटाएको थिएन ।

बिज्ञापन

अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रूपैयाँ नोक्सानी रहने निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको मूल्य घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय ३ डलर हाराहारीमा छ । कच्चा तेलको मूल्य अझै घट्ने अनुमान गरिएको छ ।