सवारी साधनको नम्बरप्लेट नेपालीमा लेख्न नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बरप्लेट नेपालीमा लेख्न माग गरेको छ । नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग संवैधानिक व्यवस्थाको मर्म र भावना विपरित भएको भन्दै नेपाली भाषाकै प्रयोग गर्न सुझाव दिएको हो ।

साउन १४ गते बसेको नेपाल बारको केन्द्रीय कार्यसमितिले नेपाली भाषा अर्थात देवनागरी लिपिमा नम्बरप्लेट लेख्न माग गर्ने निर्णय गरेको भन्दै बिहीबार विज्ञप्ति निकालेको छ ।

बिज्ञापन

‘सवारी तथा यातायात व्यवस्था विभागबाट सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ। जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि कार्य गर्न मिल्दैन,’ नेपाल बारले भनेको छ, ‘विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिप) मा लेख्नु पर्ने को अनिवार्य व्यवस्था गरिनु पर्दछ भनि नेपाल बार एशोसिएशन नेपाल सरकार लगायत सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’यसैबीच सरकारले इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सुरू गरेको छ।