गाउँ गाउँमा सिंहदरबार अझै पुग्न नसकेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई

काठमाण्डौं।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह सक्रिय भएको ६ वर्ष पुग्न लाग्दा पनि गाउँ गाउँमा सिंहदरबार अझै पुग्न नसकेको बताउनु भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो । उहाँले स्थानीय तह सक्रिय भएर जनप्रतिनिधि आए पनि जनताको मन जित्ने काम गर्न नसकेको बताउनुभयो।

बिज्ञापन

प्रधानमन्त्री देउवाले गाउँगाउँमा सिंहदरबारको नारा लगाए पनि हामीले केही नपाएको भनेर जनताले गुनासो गरेको भन्दै आफ्ना प्रतिनिधिलाई जनताको मन जित्नेगरि काम गर्न सुझाव समेत दिनुभयो।

उहाँले अहिलेको गठबन्धन सरकार आगामी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा गराउन कटिबद्ध रहेको भन्दै जनतामा गएर जनताको मन जित्ने काम गर्न निर्देशन पनि दिनुभयो।

उहाँले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर आफूहरूले बढी सिट जितेको दाबी गर्दै आगामी निर्वाचनमा पनि गठबन्धनले राम्रो नतिजा ल्याउने दाबी गर्नुभयो।