५ हजार घुससहित केयुकेएलका सिनियर प्लम्बर पक्राउ

काठमाडौं।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँच हजार घुस रकमसहित सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई मङ्गलबार पक्राउ गरेको हो।

बिज्ञापन

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिका–६ महाँकाल चौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयको कार्यकक्षबाटै खुलाललाई पक्राउ गरिएको जानकारी दिए।

अख्तियारका अनुसार खुलालले खानेपानी धारा जडानका लागि घुस माग गरेको भन्ने सूचना एवम् उजुरी सेवाग्राहीले दिएका थिए। सोही सूचनाको आधारमा परिचालित हुँदा खुलाल घुस रकमसहित पक्राउ परेको प्रवक्ता भण्डारीले जानकारी दिए।