दमक प्रहरीद्वारा अनलाइनबाट जुवा खेलाउने ४ जना पक्राउ गरि सार्वजनिक

गैरकानुनी रुपमा अनलाइनबाट जुवा खेलाउने अभियोगमा पक्राउ परेका ४ जनालाई आज दमक प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।वान एक्स बिट एपको प्रयोग गरेर अनलाइन माध्यमबाट रकम हारजित हुनेगरि जुवा खेलाएको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक स्थानीय २५ बर्षीय सतप्रकाश साह र दमक–७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका–२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका सञ्चालक दमक–८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् ।

पक्रउ परेको यो समूहले अनलाइन जुवा खेलाउन आवश्यक एनसेलको सिम कन्सल्टेन्सीमा फारम भर्ने अन्य व्यक्तिहरुको नामबाट निकाल्ने गरेको खुलेको छ । दमक प्रहरीका अनुसार उनिहरुले सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

उनिहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका एनसेलका सीमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवाइल, ल्यापटप ४ थान, प्रजापति सापकोटा वडा प्रमुख दमक–२ लेखिएको स्ट्याम्प १ थान, मुख्य शिक्षक लेखिएको स्ट्याम्प १ थान, डीगबहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान, मादी नगरपालिका– ३ नम्बर वडा कार्यालय, संखुवासभा लेखिएको स्ट्याम्प १ थान, नेपाल सरकार शिक्षा मन्त्रालय लेखिएको स्ट्याम्प १ थान, नेपालको निशान छाप भएको स्ट्याम्प १ थान, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान, ग्वलोवल एजुकेशन एकाडेमी लेखिएको स्ट्याम्प १ थान र नेपाली आर्मी रेकर्ड अफिस लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआईटि समुह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरिएको हो भने उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा मुद्दा चलाउने जानकारी दमक प्रहरी प्रमुख डिएसपी दिलिप गिरिले दिनुभयो ।