
सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि अनलाइन आवेदन खुला भएको हो । डीभीका लागि ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजेसम्म अनलाइन आवेदन भर्न सकिनेछ ।

यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य रुपमा उल्लेख गरेको हुनुपर्नेछ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भरेमा त्यस्ता व्यक्ति स्वतः अयोग्य हुनेछन् ।



डीभीको आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभीको अनलाइन फारम भरेपछि प्राप्त हुने कनफर्मेसन कोड नम्बर सुरक्षित राख्नु पर्ने छ । सोही नम्बरका माध्यमबाट डीभी परे÷नपरेको थाहा हुन्छ ।

यो वर्ष संसारभरीबाट करिब ५५ हजारले डीभी चिट्ठा प्राप्त गर्ने अमेरिकी अधिकारीले बताएका छन् ।
नेपालीहरुले डीभीको आवेदन फारम भर्न पाउनेछन् भने भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न पाउने छैनन् ।
चीनको मुख्य भूमिका जन्मिएका, ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनामका नागरिकले डीभी भर्न पाउने छैनन् ।