नेकपा एमालेको केन्द्रीय सदस्यको आधिकारिक माइन्युटसहित विवरण पेस

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आयोग पुगेर मंगलबार केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो । २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ ।

२०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको स्रोतको भनाइ छ । नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित एमालेले २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । उक्त कमिटीलाई हालै सर्वोच्च अदालतले समेत मान्यता दिएको छ ।  सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो । अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ ।