
काठमाडौं । मेयर बालेन शाहको हिजोको एक्शन नै अब नक्सा विना बनाइएका संरचना हटाउन काफी हुने देखिएको छ । हिजो अल्फा बिटामा उनको आक्रमण देखेका घरधनीहरु तथा पार्किङ्ग स्थलमा पसल राखेर व्यापार गर्दै आएका व्यापारिहरु धमाधम पसल खाली गर्न लागिपरेका छन् ।
मेयर शाह आँफै लागेर काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका हुन् । नक्सा विपरितका संरचना हटाएरै छाड्ने बालेनको अभिव्यक्ति र आक्रामक अभियानका कारण बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।
अल्फा बिटामाथि व्याकुलोडर आक्रमणपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना समेत टाँसिएको छ ।
३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् । यसले गर्दा जुनसुकै बेला महानगरको टोली आएर सामान निकाल्न समेत समय नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यवसायीहरु आफैं सक्रिय हुन थालेको नगर प्रहरीका एक अधिकारीले बताए ।
अहिले बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र सामान हटाउन सुरु गरेका छन् । आजबाट महानगरले शंखमुल क्षेत्रमा पनि व्यवसायीलाई भूमिगत पार्किङको पसल हटाउन अल्टिमेटम दिएको छ ।