गोर्खा सैनिकको अग्निपथ भर्ती बारे छलफल गर्न बैठक बस्दै

काठमाण्डौं। भारतीय सेनामा गोर्खा सैनिकको अग्निपथ भर्ती बारे छलफल गर्न आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। समितिले छलफलका लागि परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि बोलाएको छ। बैठक दिउँसो ३ बजे समितिको सभा कक्षमा बस्नेछ।

यसअघि पनि बोलाइएको बैठकमा कोरम नपुगेपछि स्थगित भएको थियो। २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको थियो।

उक्त बैठकमा मन्त्री खड्का पनि अनुपस्थित भएका थिए । भारतले सैन्यभर्तीका लागि ल्याएको अग्निपथ योजनाबारे छलफल गर्न बैठक डाकिएको हो। भारतले गोर्खा सैनिकलाई पनि अग्निपथ अनुसारनै भर्ना हुन भनिसकेको छ।

बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका थिए।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमा मूलत नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ।

यसअघि नेपाल सरकारले नेपालीहरूलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो।

परराष्ट्र मन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर अब भारतीय सैनिकमा नेपालीहरूको भर्ती सन् १९४७ को बेलायत, भारत र नेपालको सम्झौता अनुसार हुने हो कि होइन स्पष्ट हुनुपर्ने बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूण सुवेदीका अनुसार परराष्ट्र मन्त्री खड्काले अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए।

गत असार पहिलो साता भारतले तीन सैनिक सेवा स्थल, जल र वायुमा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँनेछन्।

यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउनेछन्। त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइनेछ। उनीहरूले पेन्सनको सुविधा पनि पाउने छैनन्।

भारतका विभिन्न राज्यहरूमा भएका हिंसात्मक प्रदर्शनका बाबजुद् मोदी सरकारले अग्निपथ योजना लागु गरेरै छोडेको छ।