कांग्रेसले आकांक्षी उम्मेदवारबाट विधान विपरीत धमाधम रकम असुल गर्दै

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारबाट नाम सिफारिस गरेबापत रकम असुली गरिरहेको छ । उम्मेदवारीका लागि नाम सिफारिस गरेबापत जनही पाँच हजारदेखि २० हजार रुपैयाँसम्म असुली गरिरहेको आकांक्षी उम्मेदवारको गुनासो छ ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका धनगढीका युवा व्यवसायी रविनकान्त पन्तका अनुसार करिब ४२ जनासँग जनही ५ हजारका दरले २ लाख २० हजार रुपैयाँ असुल गरिएकोे होे । उनले भने, ‘पैसा चाहिएको भन्दैमा मनलाग्दी कहाँ असुल गर्न पाउँछ ? पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छा जाहेर गर्नलाई पनि पैसा तिर्नुपर्ने कहाँको नियम हो ?’

बिज्ञापन

पार्टीमा आन्तरिक सुशासन कायम गर्न विधान विपरीतका यस्ता कार्य बन्द गरिनुपर्ने उनको भनाइ छ । कांग्रेसका कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले केन्द्रको परिपत्र अनुसार सिफारिस शुल्क नलिने व्यवस्था रहे पनि प्रदेश समितिले लिने निर्णय गरेको उल्लेख गरे । तर जिल्ला समितिले भने त्यस्तो कुनै निर्णय नगरेको उनको भनाइ छ ।

कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले केही क्षेत्रमा रकम लिएको स्वीकार गर्दै केन्द्रको परिपत्रपछि त्यसरी रकम नलिन सबैतिर सूचित गरेको बताए । लिएको भए सो रकम फिर्ता गरिने बलायरको भनाइ छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भदौ ९ गते जारी गरेकोे परिपत्रमा पार्टीको क्रियाशील सदस्यता शुल्क तथा लाभको पदमा रहेका पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा सहयोग शुल्क (लेबी) बाहेक अन्य कुनै पनि किसिमको रकम उठाउन नपाइने उल्लेख छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नाम सिफारिस गर्दा नगद रकम असुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत सो परिपत्रमा उल्लेख छ ।