ओली विरुद्ध लड्न माओवादी केन्द्रले गर्यो झापा ५ बाट ४ उमेद्वार सिफारिस

दमक। नेकपा माओवादी केन्द्र झापा क्षेत्र नम्बर ५ ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरु सिफारिस गरेको दमक नगर सहईञ्चार्ज तिर्थराज बस्नेत शंकरले ओमकार टाईम्सलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार यस क्षेत्रबाट प्रत्यक्षतर्फ युवा नेताहरु रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् । तामाङ र पुरीको  नाम प्रदेश सभाका लागि पनि सिफारिस भएको छ ।

बिज्ञापन

प्रतिनिधि सभाको समानुपातिकतर्फ भने राधिका ओझा, सन्तोष गौतम, नरेन्द्र सावाँ र गणेशमान धिमालको नाम सिफारिस भएको छ ।यता क्षेत्र नम्बर ५ प्रदेश सभा (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।

५ (ख) का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मलाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरेको दमक नगर सहईञ्चार्ज बस्नेतले जानकारी दिनुभयो ।

यस क्षेत्रबाट नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सिफारिस गरिसकेको छ । अघिल्लो निर्वाचनमा पनि ओली विजयी भएका थिए ।ओलीले कांग्रेस नेता खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार भन्दा बढी मतले पराजित गरेका थिए । सो समयमा माओवादी केन्द्र र एमालेले तालमेल गरेका थिए ।