बडामहाराजधिराज पृथ्वीनारायणको इमेल (कविता )

पुर्निका शाह
कबियत्री पुर्व राजा ज्ञानेन्द्र शाहको नातिनी हुनुहुन्छ

बिज्ञापन

आगे प्यारा सन्ततिहरु
ससाना रुमालहरु जोडेर
एक थान नेपाल बनाएको थिएँ
त्यसलाई कस्तो छ अहिले?
सन्चो छैन सुनिरहेछु
देशलाई कस्तो छ अहिले?

यता आएका आत्माहरु
खासखुस गर्दै थिए
कालगतिले मर्न पनि पाइएन
मर्ने बेलामा
आमाको मुख हेर्न पनि पाइएन
स्वास्नीको दु:ख हेर्न पनी पाइएन।

कस्तो अनर्थ सुनिरहेछु
सुनेपछी मनमनै गुनिरहेछु
म एउटा घर
बनाउँदाबनाउँदै मरे
तिमिहरु त्यो घर
भत्काउँदाभत्काउँदै मरिरहेछौ।

फेरि एउटा दिव्योपदेश सुन
नेपाल छ, र तिमिले
बेवारिस खाते हुनु परेन
एक मुठी माटोको लागी
कहिल्यै रुनु परेन
आफ्नो मटोलाइ माया गर।

ठुला दु:खले आर्जेको
एउटा सानो घर थियो
त्यो घरमा तिमिहरुले
आगो झोस्यौ कि क्या हो?
अन्तत आफ्नै अनुहारमा
अगुल्टो ठोस्यौ कि क्या हो?

आमाहरु सन्तान सृजना गर्छन्
तर म
आमा सृजना गर्ने सन्तान
तिमी नै भन त
ती आमा विरामी हुँदा
मलाई कति चोट परेको होला!

मेरा प्यारा नेपालीहरु!
तिमीले दिएको तर्पण पाइरहेछु
तिम्रो गुणगान गाइरहेछु
तर मलाईजस्तै देशलाई पनि
तर्पण र अर्पण गर्ने कर्म
कदापि नगर्नू है!

देश युद्धबन्दी भएको
अशुभ सपना देखिरहेछु,
प्यारा देशवासिलाई
एउटा अर्जि लेखिरहेछु
बन्द गर आत्माघाती लडाइँ
र, बहाली गर हर्षबढाइँ।

#चेतना_भया