स्वास्थ्यसचिव बरालमाथि दुर्व्यवहारको आरोप

काठमाडौं : स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप  लागेको छ । नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा. डा. सतिसकुमार देवले सचिव बरालमाथि दुव्र्यवहार र गालीगलौजको आरोप लागाएका हुन् ।

 

बिज्ञापन

सचिव बरालले चिकित्सकहरूलाई बारम्बार गालीगलौज गर्ने गरेको र आफूमाथि पनि दुर्व्यवहार भएको भन्दै न्याय दिलाइदिन नेपाल चिकित्सक संघमा निवेदन दिएका छन् । १ फागुनमा स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा सचिव बरालले आफू तथा समग्र चिकित्सकलाई गालीगलौज तथा दुव्र्यवहार गरेको डा. देवले निवेदनमा उल्लेख गरेका छन् ।

 

राज्यमन्त्री नवराज राउतको उपस्थितिमा भएको छलफलमा सचिव बराल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, प्रशासन समूहका सहसचिव रघुराम विष्टसमेतको उपस्थिति रहेको डा. देवले जनाएका छन् । सो छलफलमा बिमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक डा. रमेश पोखरेल, सदस्यहरू डा. दीपेन्द्र यादव, डा. अनिरा वैद्य र राज्यमन्त्री राउतका दुई स्वकीय सचिव भीमराज सिंह र कर्णराज आचार्यको समेत उपस्थिति रहेको देवले जानकारी दिए ।

 

सचिव बरालले चिकित्सकहरू बिक्ने गरेको र शिक्षा सचिव हुँदा ४–५ जना प्राध्यापक आफूलाई ढोग्न आउने गरेको समेत बताएका थिए । बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आउनुअघि शिक्षा मन्त्रालयका सचिव थिए । उनी पाँच महिनाअघि शिक्षाबाट स्वास्थ्यमा आएका हुन् । सचिव बरालसँग नेपाल चिकित्सक संघले सोधपुछ गर्ने भएको छ ।

नयाँपत्रिका दैनिकबाट