माओवादी केन्द्रको प्रदेश सम्मेलन : उम्मेदवारी दर्ता आज

काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन जारी छ। शनिबारदेखि सुरु भएको सम्मेनलअन्तर्गत आज (आइतबार) सबै प्रदेशमा बन्दसत्र र उम्मेदवारी दर्ता हुने भएको छ। शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए। सोमबारसम्म नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सकिने केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए।

तर प्रदेश नम्बर दुईको पालिका अधिवेशन वाँकी रहेकाले पुस ३ गतेमात्र हुने भएको छ। आज प्रदेश २ बाहेक अन्यत्र बन्दसत्र हुँदै छ। बन्दसत्रमा सचिवले आफ्नो प्रदेशको प्रतिबेदन पेश गरेर पारित गर्नेछन्। ‘अबको समाजवाद कस्तो हुने पार्टी निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेकाले केही समय लाग्छ होला,’ श्रेष्ठले भने, ‘त्यसपछि नामावली प्रकाशन उम्मेदवारी दर्ता र दाबी विरोध हुन सक्छ।’

बिज्ञापन

सकेसम्म सहमतिमा नेतृत्व चयन गरिने बताउँदै उनले सहमति हुन नसकेमात्र निर्वाचन हुने जानकारी दिए। यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ। ‘प्रदेश पदाधिकारीमा अध्यक्ष– १, उपाध्यक्ष– ३, सचिव– १ र सहसचिव– ३ र कोषाध्यक्ष– १ जना रहनेछन्,’ उनले भने, ‘प्रदेश समितिमा न्यूनतम आधार संख्या १७५ मानिएको छ।’