
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएकी छन् । बुधबार बेलुका ५ बजेपछि राष्ट्रपतिले विभिन्न दलका नेताहरुलाई बोलाएर छलफल गर्न लागेकी हुन् ।

त्यसका लागि राष्ट्रपति कार्यालयले उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, प्रधानमन्त्री, उपप्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई ५ बजेका लागि शीतलनिवास आउन निमन्त्रणा पठाएको छ । त्यस्तै संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । तर उनीहरुसँग के विषयमा छलफल गर्न बोलाइएको हो भन्ने बारे भने खुलाइएको छैन ।



‘राष्टपतिज्युले समसामयिक विषयमा छलफल गर्न बोलाउनुभएको हो । खासै त्यस्तो केही होइन,’ राष्ट्रपति कार्यालयका एक कर्मचारीले भने, ‘ कार्यकमको संयोजन राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज दाहालले गर्नुभएकाले उहाँसँग बुझ्दा राम्रो हुन्छ ।’

तर, दाहालसँग फोन सम्पर्क गर्न खोज्दा उनले फोन रिसिभ गरेनन् । श्रोतका अनुसार राष्ट्रपति भण्डारीले कोरोना, नयाँ नक्सा जारी तथा नागरिकता विधेयक पारित गरेपछिको अवस्थाका बारेमा चासो राख्ने बुझिएको छ ।