प्रणव मुखर्जीका छोराको ट्विटः भारतीय मिडिया फेक न्युजका कारखाना

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जीले भारतका ख्यातिप्राप्त पत्रकारहरुबाट नै गलत समाचार सम्प्रेषण भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले आफ्ना बाबु पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यलाई लिएर भारतीय सञ्चारमाध्यममा आइरहेका समाचारलाई लिएर सो टिप्पणी गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमले मुखर्जीको अवस्था चिन्ताजनक रहेको समाचार प्रकाशन प्रशारण गरेपछि उनका छोराको टिप्पणी आएको हो ।

उनले भारतका प्रतिष्ठित सञ्चारकर्मीबाट नै सामाजिक सञ्जालमा आफ्ना बाबुको स्वास्थ्यबाट गलत सन्देश प्रवाह भएको भन्दै यसको प्रतिबिम्ब सञ्चारमाध्यममा समेत देखिएको उल्लेख गरेका छन् ।

उनले भारतका सञ्चारमाध्यम ‘फेक न्युज’ उत्पादन गर्ने कारखाना भएको आरोप समेत लगाएका छन् । उनले ट्विटमार्फत आफ्ना बाबुको स्वास्थ्यअवस्था स्थिर रहेको पनि जानकारी दिएका छन् ।