
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल प्रतिनिधिका रुपमा डा. राजेश समबाजीराव पाण्डवलाई नियुक्त गरेको छ ।

डब्लूएचओको नेपाल प्रतिनिधिका रुपमा हालै नियुक्त भएका डा. राजेशले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।



असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा आफ्नो कार्यभार सम्हाल्न डा. राजेश काठमाडौं आइपुगेका थिए । डा. राजेशले नेपाल सरकार र डब्लूएचओले ५० वर्षमा बलियो साझेदारी विकास गरेको उल्लेख गरेका छन् ।

‘सबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चित गर्दै कोभिड—१९ महामारीको सामना गर्नका लागि हामी सबैले एकजुट हुनु अत्यावश्यक रहेको छ । विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूमा बढिरहेको कोभिड—१९को संक्रमणले गर्दा म चिन्तित छु । यदि स्वास्थ्यकर्मीहरू नै जोखिममा भएमा, हामी सबै जोखिममा हुन्छौँ,’ डा. राजेशले भने ।
साथै उनले नेपालका जनतालाई आउँदै गरेको चाडपर्वका लागि शुभकामना व्यक्त समेत गरेक छन् ।
‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु । भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ,’ उनले भने । त्यसैगरी उनले युवाहरूले घरका जेष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने पनि बताए ।