विभिन्न कार्यक्रम गरी आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं : विविध चेतनामूलक कार्यक्रम गरी आज विश्व शौचालय दिवस मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ ।

विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ ।

बिज्ञापन

शौचालय वा सरसफाई अभावले मानिसको जीवनयापनमा पु¥याउने असरमा केन्द्रित गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

विश्वमा अझै पनि करिब दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर विश्वमा हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।

नेपाललाई २०७६ साल असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको छ । तर, ग्रामीण क्षेत्रमा अझै पनि सहज शौचालय व्यवस्थापन हुन सकेको छैन ।

काठमाडौं उपत्यका लगायत, अन्य शहर तथा राजमार्गका व्यस्त चोकहरूका भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा छन् ।