
उदयपुर : जिल्ला अस्पताल उदयपुरमा ६ महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भएपनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो ।



जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका लागि पहिलोपटक गत असारमा जिल्ला अस्पतालमा ती भेन्टिलेटर जडान गरिएको हो ।

‘यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर प्रयोगविहीन बन्न पुगेका हुन्, उनले भने ।
भेन्टिलेटर प्रयोगमा नआउँदा आकस्मिक कक्षका बिरामी बाध्य भएर जिल्ला बाहिर रिफर गर्न परेको डा मण्डल बताउँछन् ।
अस्पताल विकास समितिका सदस्य महेश रोकाले भेन्टिलेटर सञ्चालन गर्ने प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापनका लागि पुनः सङ्घीय र प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिएको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए ।
त्रियुगा नगरपालिका– ३ मोतिगडाका समाजसेवी ज्ञानबहादुर बस्नेत भन्छन्, ‘प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा जिल्लावासीले गम्भीर अवस्थाको उपचार सेवा लिन अहिले पनि लाखौँ खर्च गरेर बाहिर जान बाध्य छन् ।