
धनुषाः धनुषामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।धनुषाधाम नगरपालिका वडा नं.९ धारापानी मालटोलमा गएराति ३ वटा गाडी आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारी अनुसार पूर्व–पश्चिम राजमार्गमा अन्तर्गत मालटोलमा घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नं.पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि.आर.०६ जिडी ८८५९ नं.को भारतीय ट्रकले ठक्कर दिएको थियो ।

सोही क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २३३८ नं.को डिजेल बोकेको तेल ट्यांकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको र दुर्घटनामा परी ट्यांकर चालक मोरङको विराटनगर वडा नं.४ का ३६ वर्षीय अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीला कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्यांकरका सहचालक विराटनगर वडा नं.४ का धनराज यादव गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । भारतीय ट्रकका सहचालक पनि घाइते भएको र उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको प्रहरीको भनाइ छ ।



