हालसम्म ७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित,१३ पत्रकारको निधन

काठमाडौ। नेपालमा हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।

महासङ्घले च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी स्व पत्रकार कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

बिज्ञापन

गत वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । चौध दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे उपचारका क्रममा निधन भएको हो । झापाको साबिक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय रहेका थिए ।