चीनसँग ४० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले चीनको सिनोफर्म कम्पनीसँग कोरोनाविरुद्धको ४० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ । कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएपछि मन्त्रालयले यसको तयारी थालेको हो ।

हिजो बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी ओलीले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताए । उनले आगामी साउनबाट सर्वसाधारण नागरिकहरूलाई खोप लगाउन थालिने जानकारी दिए । सरकारले अन्य देशसँग पनि खोप खरिदका लागि प्रयास गरिरहेकाे छ ।

बिज्ञापन

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन ।

तर अन्य कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै अघि बढ्न सरकार सहमत भएको हो ।

खरिद गर्ने खोपको पहिलो लट जुन महिनाभित्रै आउने बुझिएको छ ।