
बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले जिम्मेवार भूमिकामा रहनु पर्ने भन्दै मात्तिने छुट नभएको बताएका छन् । अध्यक्ष केपी ओली उपस्थित रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमालेको भूमिका जिम्मेवार हुनुपर्ने बताए ।
भुसालले आज नेकपामात्र होइन एमालेसमेत विभाजित भएकोले लोकतान्त्रिक स्थिरता हुन्छ भन्ने जनताको विश्वासमा खेलवाड भएको बताए ।
एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने भन्दै भुसालले आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताए । जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिने भन्दै भुसालले एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको बताए ।
‘यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं । हामीले जान खोजेको त्यसरी नै हो,’उनले भने ।