
एजेन्सी : भारतको उत्तर प्रदेशको बाराबंकीमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । त्यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घंटना भएको हो । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।



एसपी यमुना प्रसादले प्रहरी बल दुर्घटनास्थल पुगेर उद्धारकार्य सुरु गरेको जानकारी दिएका छन् । यी दुई गाडी यति बेस्सरी ठोक्किएका थिए कि दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । स्रोतका अनुसार थुप्रै शव र यात्री गाडीभित्र नराम्रोसँग फसेका थिए । मृतकको सनाखतको प्रयास भइरहेको बताइएको छ ।
