कांग्रेस प्रदेश अधिवेशन : संस्थापनविरुद्ध साझा उम्मेदवारी दिने पौडेल समूहको निर्णय

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश समितिका उम्मेदवार टुङ्ग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिने निर्णय गरेको छ।

पौडेल पक्षको महामन्त्री शंशाक कोइरालाको निवासमा बसेको बैठकले बिहीबारबाट हुने प्रदेश अधिवेशनमा प्रदेश समितिका उम्मेदवार टुङ्ग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिने निर्णय गरेको हो।

बिज्ञापन

बैठकले सात वटै प्रदेशमा प्रदेश अधिवेशनका उम्मेदवार तोक्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको पौडेलको निजी सचिवालयले जनाएको छ।

बैठकले प्रदेश अधिवेशनमा पौडेल समूहबाट साझा उम्मेदवारी दिने निर्णय समेत गरेको छ। केन्द्रीय सदस्यहरूलाई सम्बन्धित प्रदेशका प्रत्याशी र नेताहरूसँग छलफल र परामर्श गरेर आवश्यक निर्णय गर्ने अधिकार दिइएको पौडेलको सचिवालयले जानकारी दिएको छ।

बैठकले प्रदेश १ मा बलबहादुर केसी, महेश आचार्य, डा.मिनेन्द्र रिजाल, डा.शेखर कोइराला, सरिता प्रसाईँ र गुरुराज घिमिरे उम्मेदवार तोक्ने जिम्मा दिएको छ।

यस्तै प्रदेश २ मा सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव तथा बागमती प्रदेशमा प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी र गगन थापालाई उम्मेदवार तोक्ने जिम्मा दिने पौडेल पक्षले निर्णय गरेको छ।

गण्डकी प्रदेशमा रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार तथा लुम्बिनी प्रदेशमा दीपक गिरी र चन्द्र भण्डारीले पौडेल पक्षका उम्मेदवार तोक्ने जिम्मेवारी पाएका छन्।

यस्तै कर्णाली प्रदेशमा हृदयराम थानी र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेले प्रदेश अधिवेशनमा उम्मेदवार तोक्ने जिम्मा पाएका छन्।