एमसीसीमा हाम्रो भूमिका छैन : लिङ्देन

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने प्रष्ट्याएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एमसीसी पारित गर्ने विषयमा पनि आफ्नो पार्टीको भूमिका नभएको धारणा राखेका हुन् ।

विगतमा पनि यस विषयमा कुनै भूमिका नरहेको भन्दै अबका दिनमा पनि कुनै सरोकार नराख्ने बताए । एमसीसीमा हाम्रो सहयोग यसअघि पनि थिएन, अब कार्यान्वयन गर्दा पनि कुनै भूमिका रहँदैन,’ उनले भने, ‘एमसिसीमा सत्ता गठबन्धनभित्रका केही दलहरूले गरेको भनेको व्याख्यात्मक टिप्पणी पनि लाज छोप्ने टालोजस्तो छ ।

यसमा हाम्रो कुनै लेनदेन छैन।’ अध्यक्ष अबको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने दाबी गरे। उनले भने, ‘राप्रपाको शक्ति कति छ भन्ने स्थानीय चुनावमा थाह हुनेछ, भ्रष्टाचाररहित स्थानीय तह बनाउने गरी हामी चुनावलक्षित भएका छौं ।’

राप्रपाले जितेका स्थानीय तहहरूमा फरक मोडालिटी तयार गरिने उनले बताए । भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि आफ्ना पार्टीबाट जितेका जनप्रतिनिधिहरूलाई मन्दिरमा गएर भ्रष्ट्राचार नगर्ने संकल्प गराइने उनले बताए ।