
गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका छन् ।

बुधबार निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिनुभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए ।



विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय प्रमुख केसीले जानकारी दिए ।

मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, एराइभल र डिपार्चर कसरी गर्ने तयारीबारे जानकारी लिए ।
निरीक्षणमा विमानस्थल अध्यागमन कार्यालयमा काम गरिरहेका कर्मचारीलाई ‘अन्तर्राष्ट्रिय फ्लाइट आयो भने काम गर्न सक्ने अवस्था भइसक्यो ?’ भनेर प्रश्न गरे । जवाफमा अध्यागमनका कर्मचारीहरूले आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताए ।
त्यस्तै, उहाँले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिए । गृह मन्त्रालयअन्तर्गत गर्नुपर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिए ।