
काठमाडौं । स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ ।
सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका थिए ।
प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताउनुभएको थियो । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् ।शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

बिज्ञापन



