गठबन्धन कम्जोर बन्दै, चितवनमा कांग्रेसद्धारा प्रचण्ड विरुद्ध उमेद्वारीको घोषणा

काठमाण्डौं। नेकपा एमालेलाई पराजित गर्दै सत्ता कब्जाको रणनीतिक योजनामा लागेका सत्ता गठबन्धन दलहरु कम्जोर बन्दै गएका छन् । गठबन्धनलाई अझ दरिलो बनाउने भन्दै डाक्टर बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतसँग राम्रै छलफल गरेका सत्ता साझेदारीदलहरु मध्येको ठूलो दल नेपाली कांग्रेस भित्रै अहिले गुटबन्दी चल्न थालेको छ ।

संस्थापन पक्षले आँफूहरुलाई बेवास्ता गरेको भन्दै अर्का नेता शेखर कोइराला पक्षले आँफ्नो भेला गर्न थालेको छ । यसले कांग्रेसभित्र मात्र नभएर सत्ता गठबन्धन दलहरुमै संकट उत्पन्न भएको छ ।

बिज्ञापन

उता कांग्रेस चितवनले पनि सत्ता गठबन्धनकै विरुद्धमा जाने संकेत गरेको छ । उसले चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड विरुद्ध नै उमेद्वार उठाउने जनाएको छ ।

यसले गठबन्धन नै कम्जोर स्थितिमा पुगेको छ । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ ।

स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो । रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभामा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ ।

कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्तीको अवसरमा उम्मेदवार घोषणा गर्ने तयारी गरेको जनाएको छ । यसले एकातिर कांग्रेस विभाजनतर्फ उन्मुख देखिन्छ भने अर्कातर्फ कांग्रेसभित्रको आन्तरीक कलहले सत्ता गठबन्धन नै धरापमा पर्ने देखिन्छ ।