
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आजको बयान सकिएको छ । बिहान साढे १२ बजेदेखि सुरू बयान झण्डै साढे ३ घण्टा चलेको थियो । भोलि पुन: ११ बजे राणालाई बयानका लागि बोलाइएको छ ।
महाअभियोग सिफारिस समितिले आज राणासँग ४ वटा प्रश्नमा सवाल जवाफ गरेको समितिका एक सदस्यले बताएका छन् ।
जबरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोधलगायतका आरोप लगाइएको छ ।
समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।
जबरामाथि लागेको आरोपसँग सम्बन्धित रहेर लिखित तथा मौखिक बयान लिइने बताइएको छ ।