भक्तपुरका ६ सीटमा ४० जना कांग्रेस नेताको दाबी

भक्तपुर । भक्तपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ गरी ६ सीटका लागि नेपाली कांग्रेसका ४० जना नेताले दावी गरेका छन् । जसमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं १ मा २ र क्षेत्र नं २ मा ५ जनाले आकांक्षा राखेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा बाबुराज जोशी र हरिकृष्ण बल्लले उम्मेदवार बन्ने आकांक्षा राखेका हुन् । उनीहरुले कांग्रेस क्षेत्रीय समितिमा आकांक्षापत्र पेश गरेको क्षेत्रीय सचिव समुन्द्र थापाले जानकारी दिए । उम्मेदवार दाबी गर्नेमध्ये जोशी २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित हुँदा जोशी दोस्रो स्थानमा रहेका थिए ।

यस क्षेत्रबाट समानुपातिकतर्फ कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल, रुपा थापा, रञ्जना कक्षपती र रामसुन्दर खाइतूले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण नपा पर्छन् ।

क्षेत्र नं २ को प्रत्यक्षतर्फ जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ, वरिष्ठ पत्रकार कविर राणा, कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र सुनिल ठकुरीले आकांक्षा राखेका छन् ।

यस क्षेत्रमा समानुपातिकतर्फ अष्टकुमार कवे, नारायणभक्त खायमली, अच्युतप्रसाद मिश्र, रमा कोइराला पौडेल, जयराम श्रेष्ठ, मीना ढकाल, सविन ढुंगेल र माथवरसिंह बस्नेतले उम्मेदवार बन्न आकांक्षापत्र कांग्रेस क्षेत्रीय समितिमा पेश गरेका छन् । क्षेत्र नं २ मा सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका पर्छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी क्षेत्र नं १ (क) मा १२ जनाले दाबी गरेका छन् । सिंगो चाँगुनारायण नपा र भक्तपुर नपाको वडा नं १० पर्ने यस प्रदेशसभाको प्रत्यक्षतर्फ शिवहरि केसी, प्रवीण वन, उद्धव खड्का, राजेश खड्का, राधा कार्की (सरु बानियाँ), गणेशप्रसाद फुयाल, यादवप्रसाद अधिकारी, मनोजकुमार थापा, हरिप्रसाद नेपाल, सुरेश श्रेष्ठ र समुन्द्र थापाले उम्मेदवार बन्ने आकांक्षापत्र पेश गरेको कांग्रेस प्रदेश उपसभापति दिनेश अवालले जानकारी दिए । उनका अनुसार प्रदेशसभामा समानुपातिकतर्फ ६ जना दाबी गरेका छन् ।

त्यस्तै भक्तपुर नपाको वडा नं १ देखि ९ सम्म पर्ने क्षेत्र नं १ (ख) प्रदेशसभाको प्रत्यक्षतर्फ नारायणप्रसाद तमखू र पवन भुजूले दावी गरेका छन् । यहाँ समानुपातिकतर्फ ६ जनाको आकांक्षापत्र पेश भएको क्षेत्रीय सचिव थापाले जानकारी दिए ।

क्षेत्र नं २ का प्रदेशसभा (क) र (ख) को प्रत्यक्षतर्फ क्रमशः ९ र १० जना दाबी गरेका छन् । समानुपातिकतर्फ भने ११ र १० जनाले आकांक्षा व्यक्त गरेका छन् ।

सिंगो सूर्यविनायक नपा पर्ने प्रदेशसभा (क) को प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दीपेन्द्र थापामगर, कविन्द्र मिश्र, अंगत खड्का र सुरेन्द्र केसीले दाबी गरेका छन् ।

त्यस्तै सिंगो मध्यपुर थिमि नपा पर्ने प्रदेशसभा (ख) को प्रत्यक्षतर्फ पूर्वजिल्ला सभापतिद्वय गणेशमान चक्रधर र महेश श्रेष्ठ, नगर सभापति हरिदास प्रजापति, प्रदेश सभापति ओमप्रकाश श्रेष्ठ, सन्तोष भट्टराई, केदार खड्का, ओम जिमा, रामचन्द्र श्रेष्ठ, गोकुल शर्मा र उमेश खड्काले दाबी गरेका छन् ।

उम्मेदवार बन्ने आकांक्षीहरुकाे नाम प्रदेश समितिले बिहीबार क्षेत्रीय समितिमा बुझाइसकेका छन् । क्षेत्रीय समितिले आजै जिल्ला समितिमा सिफारिस गरेर पठाइने क्षेत्र नं १ सचिव थापाले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले गरेकाे परिपत्रअनुसार जिल्ला समितिले भाद्र १८ गतेभित्र उम्मेदवारकाे सिफारिस गर्नुपर्नेछ ।

कांग्रेसको भागमा पर्छ कति सीट ?

आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले तालमेल गरेरै सहभागी हुने निर्णय गरिसकेको छ । गठबन्धनको नेतृत्वकर्ता कांग्रेस भक्तपुरमा पहिलो पार्टी हो । कांग्रेसपछि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको प्रभाव राम्रो छ । जनता समाजवादी पार्टी र जनमोर्चा भने यहाँ रक्षात्मक अवस्था छन् ।

२०७४ सालमा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेमकिपाका प्रेम सुवाल र २ मा वाम गठबन्धनबाट एमालेका महेश बस्नेत विजयी भएका थिए । त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा एमालेका हरिशरण लामिछाने र (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं निर्वाचित भएका थिए । क्षेत्र नं २ (क) र (ख) क्रमशः एमालेका शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठ विजयी भएका थिए ।

यसअनुसार कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चा नील भएका थिए । एमाले विभाजित भई एकीकृत समाजवादी बनेपछि क्षेत्र नं २ प्रदेशसभा (ख) बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठले नयाँ पार्टी रोजेका थिए । त्यस्तै क्षेत्र नं १ (क) का प्रदेश सांसद लामिछानेको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा राप्रपासँगको सहकार्यमा कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका थिए ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतभार अनुसार भक्तपुर क्षेत्र नं १ मा एक्लाएक्लै र सत्ता पक्ष वा एमाले पक्षको छुट्टछुट्टै गठबन्धन भए पनि नेमकिपालाई जित्न सम्भव छैन । क्षेत्र नं २ मा भने सत्ता गठबन्धन पहिलो स्थानमा छ ।

योसँगै प्रतिनिधिसभातर्फका दुइर्ट क्षेत्र कांग्रेसलाई छोड्न गठबन्धनका अन्य दल सहमत छन् । यस हिसाबमा कांग्रेसले प्रतिनिधिसभातर्फ २ सीट, त्यसमा पनि जित्ने एउटामात्रै पाउने निश्चित छ ।

प्रदेशसभातर्फ माओवादी र एकीकृत समाजवादीले २-२ सीटमा दावी गरेका छन् । क्षेत्र नं १ (ख) त नेमकिपाको सुनिश्चित भएकाले ३ सीट बाँकी रहन्छ । सत्ता गठबन्धनको समझदारीअनुसार प्रदेशसभा क्षेत्र नं १ (क) कांग्रेस र क्षेत्र नं २ (ख) एकीकृत समाजवादीले पाउने निश्चित छ । अब बच्यो क्षेत्र नं २ (क) प्रदेशसभा । सत्ता गठबन्धनका दलहरुबीच इमानदार र आत्मीय सहमति भए उक्त सीट माओवादीको भागमा पर्नेछ ।

यसबाहेक स्थानीय तह निर्वाचनकै स्थिति भए प्रतिनिधिसभा र प्रदेशसभाका कुनै पनि क्षेत्र सत्ता गठबन्धनका कुनै पनि दलको हातमा नपर्ने गठबन्धन दलका नेताहरु नै बताउँछन् ।