
काठमाडौं। नेकपा एमालेले चुनावी घोषणापत्रका लागि नेपाली जनतासँग सुझाव मागेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषयबारे सुझाव दिन एमालेले सर्वसाधारणलाई आह्वान गरेको हो । भदौ २५ गतेभित्र सुझाव दिन सकिने एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणा पत्र मस्यौदा कमिटीले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पंक्तिलाई भदौ १५ गते सम्ममा सुझाव दिन आह्वान गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आफ्नो सुझाव दिइसकेको एमालेले जनाएको छ ।



एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम नागरिकहरूसँग पनि सुझाव आह्वान गरेको हो । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले गर्नुपर्ने कामको सुझाव दिन चाहे भदौ २५ गते भित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराइदिन एमालेले आह्वान गरेको छ ।

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ । इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले [email protected] मा आफ्ना सुझाव पठाउन सक्ने पनि एमालेले जनाएको छ ।