मन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने राईको माग

काठमाडौं । सांसद् डा.विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद् पौड्यालले यस्तो माग गर्नु भएको हो । सुरक्षा गार्ड शेरजंग गुरुङप्रति गरेको व्यवहारमा मन्त्री श्रेष्ठले सार्वजनिक माफी माग्नुपर्ने उहाँले बताउनुभयो । जनताको सेवक भएर शासक प्रवृत्ति देखाउने मन्त्री श्रेष्ठको कदम अमानवीय र अस्वीकार्य रहेको भन्दै उहाँले कडा आपत्ति समेत जनाउनुभयो ।

उहाँले भन्नुभयो, जनताले तिरेको करबाट सेवासुविधा लिने हामी जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री र सरकारका सबै अंगहरु जनताका सेवक हुन् शासक होइनन्, दुई दिन अगाडि एक जना विद्यमान् मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै अस्वीकार्य छ, उहाँले यसमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ, उहाँले राजीनामा त दिनुहुन्न थाहा छ तर सार्वजनिक रुपमा माफी माग्नुपर्छ किनभने हामी सेवक हौं शासक होइनौं ।

यस्तो खालको घटना दोहोरिन नदिन उहाँले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनुभयो । यो एक जना गार्ड र मन्त्रीको मात्र कुरा होइन, विधिको शासनको कुरा हो, विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा एउटा श्रमिकलाई ५ दिन थुनामा राख्ने पनि हामी भन्दै उहाँले यो असाध्यै भएन भन्दै यसमा सरकारले ध्यान पुग्नुपर्ने बताउनुभयो ।

छाया सेन्टरमा रहेको भिसा सेन्टरमा गएका मन्त्री श्रेष्ठले लाइनमा बस्न आग्रह गरेको भन्दै गुरुङलाई पक्राउ गर्न लगाएर थुन्न लगाएका थिए ।