
बुटवल– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको थियो । मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो । मलाई छाडेर गयो । नयाँ वर्षको अवसरमा अरू केही नभनौं । शुभकामना छ ।’ जहाजले छोडेपछि उनी सोमवार बुटवल बस्न बाध्य भए ।
उनले थपे, ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दु:ख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । विज्ञापनको पछाडि मात्र नलागौं ।’
बाँस्कोटाले सरकारले कामको आधारशिला निर्माण गरेको बताए । सरकारले गठन भएको एक वर्षमा सरकारले कामको आधारशिला तयार गरेको दाबी गरे । ‘देशले निर्माणको बाटो पक्रेको छ । अब देश समृद्धिको दिशामा अगाडि बढछ,’ मन्त्री बाँस्कोटाले भने ।
उनले सरकारले प्रेसलाई व्यवसायिक बनाउन चाहेको बताए । उनले सरकारलाई उठ्नै नसक्ने गरी ठटाउन प्रेसलाई आग्रह गरे । तर तथ्य र प्रमाण पुर्याउन भने उनले सचेत गराए ।बाँस्कोटाले भने, ‘हामीलाई सचेत गराउने गरी ठटयाउनुहोस् । तर तथ्य र सप्रमाणसहित हुनुपर्छ ।’
उनले ललिता निवासको जग्गा रोक्का गरेको बताए । उनले उक्त जग्गा खरीद गर्दा नेकपा महासचिव विष्णु पौडेल ठगिएको दाबी गरे । ‘सरकारले जग्गा छानविन गर्दै छ । कोहीसँग प्रभावित हुँदैन ।’ लोकान्तर बाट साभार गरिएको