
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ।
महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार ९०दिनभित्रमा नक्सा पास गर्न बिहीबार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो।
महानगरले नक्सा पास नगरी बनाइएका व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायका भवनको नक्सा ९० दिनभित्र पेस गर्न भनेको छ। ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ’, महानगरले बिहीबार जारी गरेको सूचनामा भनिएको छ।
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरपालिकाको निर्णय बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
त्यसैगरी महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना निकालेको छ। महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो।