नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने प्रचण्डको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताएका छन्।

आज पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’

राष्ट्रपतिले अघिल्लो पटक नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।

राष्ट्रपतिलाई यस्ता विधेयकमा चित्त बुझेन भने एकपटकलाई सदनमा फिर्ता गर्ने संविधानले अधिकार दिएको बताउँदै प्रचण्डले भने, ‘दोस्रोपटक पनि दुबै सदनबाट पारित भएर गएपछि राष्ट्रपतिलाई यताउति गर्ने अधिकार नै छैन । प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा यसपटक हामी आशावादी छौं ।’

यसअघि राष्ट्रपतिलाई भेट्दा उनले यसलाई ठूलै राजनीतिक मुद्दा बनाउने जस्तो देखेको आफूले पाएको उनले बताए । सोही भेटमा आफूले राजीनामा दिने वा अदालत जाने विकल्पबारे राष्ट्रपतिलाई भनेको पनि प्रचण्डले बताए ।