
सामाजिक सुरक्षा कोषले प्रत्येक वर्ष योगदानकर्ताका ८४ जना सन्ततिलाई छात्रवृत्ति दिने गृहकार्य गरेको छ । प्रत्येक प्रदेशबाट ६ जना महिला र ६ जना पुरुषले तोकिएका ६ विषय अध्ययन गर्दा छात्रवृत्ति पाउने व्यवस्था गर्न लागिएको हो ।कोषले नयाँ कार्यविधि नै बताएर योगदानकर्ताका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको हो । कोषले ‘योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि २०७९’ तयार पारेको छ । नयाँ कार्यविधिमा प्रत्येक प्रदेशबाट ६ जना महिला र ६ जना पुरुष पर्नेगरी १२ जनालाई छात्रवृत्ति दिने व्यवस्था राखिएको छ । यसरी छात्रवृत्ति दिँदा आम्दानी कम हुने योगदानकर्ताको सन्ततिलाई प्राथमिकता दिने गरी व्यवस्था गरिएको कोष स्रोतले जानकारी दियो ।
‘प्रत्येक प्रदेशबाट ६ जना महिना र ६ जना पुरुषले छात्रवृत्ति पाउँदा १२ जनाले पाउने भए, सातै प्रदेश समेट्ने गरी कार्यविधि बनाइएकोले प्रत्येक वर्ष ८४ जनाले छात्रवृत्ति पाउँछन्,’ स्रोतले भन्यो । कार्यविधिमा विभिन्न ६ विषय अध्ययनको लागि मात्रै छात्रवृत्ति पाउने उल्लेख गरिएको छ । कोषले योगदानकर्ताका सन्ततिलाई चिकित्सा शास्त्र, इन्जिनियरिङ, नर्सिङ, वनविज्ञान, कृषि र होटल म्यानेजमेन्ट अध्ययन गर्नका लागि छात्रावृत्ति दिन लागेको हो । कोषले छात्रवृत्ति वापत ५ लाख रुपैयाँ प्रदान गर्ने प्रस्ताव कार्यविधिमा गरिएको छ ।
घातक रोगको उपचारमा १० लाख
यस्तै, कोषले योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च दिने गरी कार्यविधि संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिलेसम्म घातक रोगको उपचारमा कोषले रकम दिने भन्ने व्यवस्था थिएन । घातक (क्रिटिकल) रोगको उपचारको सुविधा पाउने समय भने बढाइएको छ ।
कोषले पेन्सनप्रति योगदानकर्ता आकर्षित हुन भनेर यस्तो व्यवस्था गर्न लागेको हो । प्रस्तावित व्यवस्थाअनुसार कोषमा योगदान रकम जम्मा गर्न लागेको २ वर्ष पूरा भएपछि पेन्सन लिन थालेको ७ वर्ष पछिसम्म क्रिटिकल रोग उपचार सुविधा लिन पाइने व्यवस्था थप गर्न लागिएको छ ।
‘६० वर्षदेखि पेन्सन सुविधा सुरु हुन्छ, क्रिटिकल रोग लाग्ने भनेकै खासगरी ६० वर्षपछि हो, त्यसैले पेन्सन लिन थालेको ७ वर्ष पछिसम्म अर्थात ६७ वर्षसम्म क्रिटिकल रोग उपचारको सुविधा पाउने व्यवस्था गर्न लागिएको हो,’ कोष स्रोतले भने ।
कोषले योगदानकर्ताको दम्पतीकै उपचार गर्दा पनि औषधी उपचार सुविधा पाइने व्यवस्था थप गर्न लागेको छ । अहिलेसम्म योगदानकर्ताको लागि मात्रै उपचार खर्च दिने व्यवस्था गरिएकोमा अबदेखि योगदानकर्ताको दम्पतीले नै उपचार खर्च पाइने व्यवस्था गर्न लागिएको हो । तर, उपचार खर्च रकम भने बढाइएको छैन । वार्षिक १ लाख रुपैयाँमा नवढ्ने गरी योगदानकर्ताको दम्पतीले उपचार खर्च सुविधा दाबी गर्न पाइने व्यवस्था गर्न लागिएको छ ।