को बन्छ अबको सभामुख ?

काठमाण्डौ – नयाँ सभामुख चयनका लागि नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक तयारी थालेको छ । कार्यकालको बीचमै कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिन परेपछि अहिले सभामुख पद रिक्त छ ।

संसद सचिवालयमै कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले राजीनामा दिनु परेको थियो । सभामुख पद रिक्त भएपछि अब कसलाई सभामुख बनाउने भन्ने बारेमा नेकपाले आन्तरिक तयारी थालेको हो ।

बिज्ञापन

तत्कालीन समयमा सभामुख र उपसभामुख फरक दलबाट निर्वाचित भएका थिए । महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट र तुम्बाहाम्फे तत्कालीन एमालेबाट निर्वाचित हुनु भएको थियो ।

महराले राजीनामा दिएपछि भने सभामुख र उपसभामुख अब फरक फरक दलको राख्नै पर्ने बाध्यता उत्पन्न भएको छ । उपसभामुखमा तुम्बाहाम्फेलाई नै यथावतमा राख्ने हो भने सभामुख पद नेकपाले गुमाउनु पर्नेछ । तर नेकपाले तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख पद गुमाउन चाहेको छैन । त्यसैले तुम्बाहाम्फेलाई मन्त्री बनाउने र सभामुखमा आफ्नै दलको प्रतिनिधि चयन गर्ने गरी नेकपाले गृहकार्य गरिरहेको छ ।

तर एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भने कांग्रेसले एकै दलबाट दुवै पदमा रहनु संविधानविपरीत हुने भन्दै विरोध गर्दै आएको थियो । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ ।

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउने र त्यो पद सत्ता सहयात्रीलाई दिन सकिनेबारे छलफल भएको स्रोतको दावी छ ।तर उपसभामुख तुम्बाहाम्फे भने उपसभामुख छाडेर मन्त्री नबन्ने अडानमा हुनुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष तथा प्रदेश सभाहरुमा पनि पुरुष मात्रै सभामुख रहेकाले अब प्रतिनिधिसभामा महिला सभामुख राख्नु पर्ने र त्यसमा आफ्नो पहिलो दावेदारी रहने तुम्बाहाम्फेले बताउने गर्नु भएको छ ।

सभामुख पद कसरी नेकपाले जोगाउने भनेर गएको आइतबार उपसभामुख तुम्बाहाम्फेसँग प्रधानमन्त्री केपी शर्मा ओली आफैँले छलफल समेत गर्नुभएको थियो । छलफलमा राजीनामाको बारेमा कुरा नभए पनि सभामुख पद नेकपाले नै कसरी राख्न सक्छ भन्ने विकल्पमा छलफल भएको प्रधानमन्त्री स्रोत बताउँछ ।

मंगलबार दुवै अध्यक्ष र बुधबार सचिवालय बैठकमा पनि उपसभामुखलाई राजीनामा गर्न लगाएरै भए पनि सभामुख पदमा नेकपाकै प्रतिनिधि पठाउने विषयमा छलफल भएको थियो ।

उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाउने गरी राजीनामा गर्न लगाउने र सभामुखमा आफ्नै दलबाट पठाउने गरी नेकपाले छलफल अघि बढाएसँगै सभामुखमा कसलाई पठाउने भन्ने बारेमा पनि आन्तरिक छलफल हुन थालेको छ ।

पहिलो संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङलाई नै फेरि सभामुख बनाउने वा अन्य विकल्प खोज्ने भन्ने बारेमा छलफल भइरहेको छ । महरा तत्कालीन माओवादी तर्फबाट सभामुख बनेकाले अहिले एकतापछि पनि माओवादी खेमा तर्फबाटै सभामुख छान्नुपर्छ भन्ने बारेमा पनि तत्कालीन माओवादी खेमाले माग दावी अघि सारेको छ ।

आधा कार्यकालका लागि सभामुखमा जान नेम्वाङले अनिच्छा देखाउनुभएको छ । यद्यपी अहिले पार्टीले कुनै निर्णय नगरेकाले सभामुख उपसभामुख के हुन्छ भन्नेबारे यसै भन्न सकिने अवस्था छैन । उपसभामुख तुम्बाहाम्फेले मन्त्रीमा उपसभामुख पद साटेको देखिने गरी आफूले राजीनामा नदिने अडान राख्दा अब के गर्ने भन्ने बारेमा नेकपाभित्र अन्योल देखिएको छ ।

उपसभामुखलाई राजीनामा दिन लगाएर पार्टीभित्रको समायोजन कसरी गर्ने भन्ने बारेमा अहिले नै कुनै ठोस निर्णय हुन सकेको छैन । त्यसैले तुम्बाहाम्फेले आफैँले सभामुखको दावी गर्दै आउनुभएको छ ।

उपसभामुखको अनुभव पनि भएको र महिला प्रतिनिधित्व पनि रहने भएकाले सभामुख आफूले पाउनुपर्ने दावी तुम्बाहाम्फेले गर्दै आउनुभएको छ । उपसभामुख पनि पार्टीकै सिफारिसमा भएकाले अहिलेको परिस्थितिमा पार्टीले विचार गरेरै निर्णय लिन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभएको छ ।

तर नेकपाभित्र नयाँ सभामुख नयाँ अनुहारको हुने वा पुरानैलाई बनाउने भन्ने विषयमा चर्चा भने चलेको छ । नयाँ सभामुखमा पूर्व माओवादी खेमाबाट पम्फा भुषाल, अग्नि सापकोटा, देव गुरूङको नाम चर्चामा छ । पूर्व एमाले खेमाबाट भने नेम्वाङको चर्चा छ ।

सभामुख पद रिक्त भएसँगै त्यसमा कांग्रेसले पनि आफ्नो दावी अघि सारेको छ । सभामुख र उपसभामुख एकै पार्टीसम्बद्ध भएको भन्दै विरोध गर्दै आएको प्रतिपक्षी दल कांग्रेसले अब एउटा पद आफूले पाउनु पर्ने माग गरेको छ ।

संविधानतः नै फरक फरक दलको हुनुपर्ने व्यवस्था भएकाले त्यसमा आफूहरुको दावी रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । पहिले पनि सभामुखमा आफ्नो पार्टीको दावी रहेकाले अब पनि सभामुख पदका लागि आफ्नो पार्टीले दावी गर्ने उहाँ बताउनुहुन्छ ।

सभामुख चयनका लागि हुने चुनावमा आफ्नो दलले दावी पेश गर्ने शर्माले बताउनुभयो । सभामुख पद रिक्त रहेकाले अहिले सभामुख पदका लागि कांग्रेसले दावी गर्ने तर नेकपाले उपसभामुखलाई पनि राजीनामा गर्न लगाएर नयाँ चयन गर्ने अवस्था बनाए त्यसमा पनि आफूहरुको दावी रहने शर्माले बताउनुभयो ।उज्यालो अनलाइनबाट सभार