यस्तो छ  कलशको आध्यात्मिक र वैज्ञानिक महत्व

-भुवन गुरु

शान्ति कलश जलका अधिष्ठात्री देवता वरुण हुनुहुन्छ । जलमा देवताहरूको बास हुन्छ जलको शाब्दिक अर्थ हुन्छ शितल ।
शितलको अर्थ हुन्छ शान्ति । आज हरेक घरमा आ–आफ्ना दुःख पीडा र चिन्ताहरू छन् । सबैलाई सुख चाहिएको छ तर त्यो सुखानुभूति गर्न सकिरहेका छैनौं । यस्ता समस्याहरूको समाधान शान्ति कलशबाट हुन्छ ।
घर निर्माणका विविध दोषहरूमध्ये वास्तु दोष पनि एक हो । जसकारण घरमा पारिवारिक असमझदारी, कलह, झगडा, डिप्रेसन जस्ता समस्या छन् भने शान्ति कलशले पनि शान्ति प्रदान गर्दछ ।
अब शान्ति कलश यात्राको विधि कस्तो हुनुपर्छ त ? पुराणमा बताइएअनुसार भागवत पुराण महायज्ञ जस्ता पवित्र कार्यमा कलश सबैभन्दा उत्तम हुन्छ । किनभने भागवतादि यज्ञमा स्थापना गरिएका कलशहरूमा सम्पूर्ण करोडौं तीर्थहरू तेत्तीसकोटि देवता, स्वयं वरुणदेव, लक्ष्मी, गंगा, यमुना, सरस्वती आदि देवीहरू आएर निवास गर्नुभएको हुन्छ ।
यदि यी वैदिक मन्त्र भागवत पाठ पारायण वेदादिहरूको मन्त्रले अभिमन्त्रित भएका कलशहरू वा त्यस कलशको जल घरमा लगेर आफ्ना खेतीयोग्य जग्गा, खेत वारीमा लगेर सेचन गरियो भने धनधान्य वृद्धि हुने र घरमा लक्ष्मीको बास, सुख, शान्ति र समृद्धि वृद्धि भएर जान्छ ।
समग्र जगतमा शान्ति स्थायित्वको लागि पनि यस भागवतीय शान्ति कलशको अपरिहार्य महत्व रहेको छ ।

बिज्ञापन