अर्घाखाँची : अर्घाखाँचीको नरपानीमा हिजो (बुधबार) साझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । उक्त दुर्घटनामा एकै घरका दुई जना सहित उक्त संख्यामा मृत्यु भएको हो।

 

दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन्।

 

सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो। मृतक १० जनाको सनाखत भएको छ।

 

यसरी दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क ७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मोनिका खड्का, शितगंगा २ सितापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाँउ बस्ने गाढी धनी ३७ वर्षीय शन्त बहादुर बस्नेत, शितगंगा–२ सितापुर झिर्रा बस्ने उनको भाई बुहारी २७ वर्षीया सिता बस्नेत , कपिलवस्तु बुद्धभुमी बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री (बसन्त ), अर्घाखाँची सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलाराम भट्टराई, भुमिकास्थान नगरपालीका ९ का २७ वर्षीय शैलेस थापा , सन्धिखर्क १० का छबिलाल गैरे र गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत शसस्त्र प्रहरी जवान राजकुमार महत रहेका छन्।

 

अन्य ९ जना मृतकहरुको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा ५ ÷ ६ महिनाको बालकसहित १२ जना पुरुष ७ जना महिला रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । घाइते १८ जना मध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको बुटवल चौराहा अस्पताल प्रालीमा, ९ जनाको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ।

 

घाइते मध्य दाङ जिल्ला राप्ती गाँउपालीकाका ३३ वर्षीय प्रशान्त सवदीलाई बुटवल चौराहा अस्पतालबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। दुर्घटनाको कारण एक्कासी जोडले ब्रेक थिच्दा बस अनियन्त्रीत भई सडकको डिल भासीएर भिरबाट तल खसेको प्रहरीको प्रारम्भीक अनुसन्धानले जनाएको छ।

तस्बिर : बीबीसी